Mail Us

Info@enthealthcare.com.np

Call Us

+977-15242510

Tonsillitis

टन्सिल: कारण, लक्षण र उपचार

ENT Healthcare

टन्सिल (Tonsillitis) गला सम्बन्धी एक साधारण तर पीडादायक समस्या हो, जसमा गला भित्र रहेका टन्सिल्स नामक अंगहरू सुजनग्रस्त हुन्छन्। यो समस्या विशेष गरी बालबालिकामा देखा पर्ने भए पनि, कुनै पनि उमेरका मानिसमा हुन सक्छ। टन्सिलाइटिस सामान्यत: भाइरल वा ब्याक्टेरियल संक्रमणका कारण हुन्छ।

टन्सिलाइटिस के हो?

टन्सिल्स दुईवटा सानो, अण्डाकार आकारका अंगहरू हुन्, जो गला (घाँटी)को पछाडि दुवैतिर अवस्थित हुन्छन्। यी अंगहरूले शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया र भाइरसको बिरूद्ध प्रतिरक्षा प्रणालीको रूपमा काम गर्छन्। तर, कहिलेकाहीँ टन्सिलहरू नै संक्रमणको शिकार बन्न सक्छन्, जसलाई टन्सिलाइटिस भनिन्छ।

टन्सिलाइटिसको कारण Causes:

टन्सिलाइटिसको प्रमुख कारणहरू भाइरल र ब्याक्टेरियल संक्रमण हुन्। अधिकांश मामिलाहरू भाइरसका कारण हुने गर्दछन्, जस्तै रुघा-खोकीका भाइरसहरू (राइनोभाइरस, एडेनोभाइरस) वा इन्फ्लुएन्जा भाइरस। कहिलेकाहीं, स्ट्रेप्टोकोकस ब्याक्टेरियाका कारण पनि टन्सिलाइटिस हुन सक्छ, जसलाई ‘स्टेप थ्रोट’ (Strep Throat) भनिन्छ। 

 

टन्सिलाइटिसका लक्षणहरू Symptoms:

टन्सिलाइटिसका सामान्य लक्षणहरू यस प्रकार छन्:

– गला दुख्ने

– निल्न गाह्रो हुने

– टन्सिलहरू सुन्निने र रातो हुने

– ज्वरो आउने

– टाउको दुख्ने

– घाटी दुख्ने

– आवाज परिवर्तन हुने

– मुखबाट दुर्गन्ध आउने

टन्सिलाइटिसका जटिलताहरू Complications:
  1. पेरिटोन्सिलर एब्सेस (Peritonsillar abscess/Quinsy): यो स्थिति तब उत्पन्न हुन्छ जब टन्सिलको वरिपरि पीप भरिने हुन्छ। यसले गला एकतर्फी सुन्निने, अत्यधिक दुख्ने, बोल्न र निल्न गाह्रो हुने, र मुख खोल्न समस्या हुने जस्ता लक्षणहरू देखाउँछ। यो जटिलता प्रायः टन्सिलाइटिसको गम्भीर रूप हो र यसको उपचारको लागि चिकित्सकीय हस्तक्षेप आवश्यक हुन्छ।

 

  1. श्वासप्रश्वासमा समस्या: टन्सिलाइटिसले गला सुजन गराउँछ, जसले श्वासप्रश्वासमा कठिनाइ उत्पन्न गर्न सक्छ। विशेष गरी निद्राका समयमा सास फेर्न समस्या हुने र सास रोकिएर निन्द्रा बिग्रन सक्छ (Sleep Apnea) ।

 

  1. ब्याक्टेरियल संक्रमणको फैलावट: यदि टन्सिलाइटिस ब्याक्टेरियल हो भने, संक्रमण अन्य भागहरूमा फैलिन सक्छ, जस्तै कान, घाँटी, मुटुको भल्भ, मृगौला । गम्भीर अवस्थामा, संक्रमण रगतमा फैलिने (sepsis) जोखिम पनि रहन्छ।

 

  1. क्रोनिक टन्सिलाइटिस chronic tonsilltis: बारम्बार टन्सिलाइटिस हुने अवस्था हो, जसमा व्यक्ति प्राय: टन्सिलाइटिसबाट प्रभावित हुन्छन्।
टन्सिलाइटिसको उपचार Treatment:

टन्सिलाइटिसको उपचार लक्षणको गम्भीरता र संक्रमणको प्रकारमा निर्भर गर्छ। यदि भाइरल संक्रमण हो भने, यो सामान्यत: केही दिनमा आफैं ठिक हुन्छ। यद्यपि, लक्षणलाई सहज बनाउन केही उपाय अपनाउन सकिन्छ:

  • आराम: शरीरलाई पर्याप्त आराम दिनु पर्छ।
  • तरल पदार्थ: धेरै पानी पिउनु पर्छ, जसले गला सुक्न दिँदैन।
  • कुल्ला गर्ने: नुनपानीले कुल्ला गर्नुले गला दुखाइ कम गर्न मद्दत गर्छ।
  • पीडानाशक औषधि: पारासिटामोल जस्ता औषधिले दुखाइ र ज्वरो कम गर्न मद्दत गर्छन्।
  • डाक्टर परामर्श: यदि १-२ दिनमा लक्षणहरू कम भएन वा गम्भीर लक्षणहरू छन् भने, डाक्टरसँग परामर्श गर्नुपर्छ। चिकित्सकको सल्लाहबिना औषधि पसलबाट एन्टिबायोटिक खरिद गरी प्रयोग गर्नु हुँदैन। एन्टिबायोटिकको जथाभावी प्रयोगले तपाईंको स्वास्थ्यको लागि झन हानिकारक हुन सक्छ।
  • टन्सिल शल्यक्रिया
टन्सिल शल्यक्रिया (Tonsillectomy) को संकेतहरू indications:
  • बारम्बार हुने टन्सिल recurrent tonsillitis: यदि एक वर्षमा ४-५ पटक वा सो भन्दा बढी टन्सिलाइटिस हुने गर्छ भने, शल्यक्रिया सिफारिस गरिन्छ। यसले भविष्यमा हुने सक्ने जटिल्ता र मुटुको भल्भ संक्रमणको जोखिमलाई कम गर्छ।
  • क्रोनिक टन्सिलाइटिस chronic tonsillitis: दीर्घकालीन टन्सिलाइटिस वा यसका लक्षणहरू (जस्तै, गला दुख्ने, सास फेर्न गाह्रो हुने, सास गन्हाउने ) लामो समयसम्म रहने भएमा, टन्सिल शल्यक्रिया सिफारिस गरिन्छ।
  • पेरिटोन्सिलर एब्सेस peritonsillar abscess: यदि पेरिटोन्सिलर एब्सेस एक चोटि भईसकेको छ भने, टन्सिल हटाउनु नै सिफारिस गरिन्छ।
  • Hypertrophy of tonsils: टन्सिलहरू धेरै ठूला भई यी समस्याहरु निम्त्याउछँ भने टन्सिल शल्यक्रिया सिफारिस गरिन्छ:
    • सास फेर्न गाह्रो भएको (विशेष गरी निद्राको समयमा), वा सास रोकिएर निन्द्रा बिग्रने (Sleep Apnea) अवस्थामा ।
    • निल्न मा कठिनाई ।
    • बोलीमा असहज ।
  • यदि क्यान्सर(malignancy)को शंका छ भने ।
टन्सिलाइटिसको रोकथाम Precautions:

टन्सिलाइटिसको रोकथाम गर्न केही सावधानी अपनाउन सकिन्छ:

  • नियमित रूपमा हात धुने
  • भाइरल संक्रमण भएका व्यक्तिहरूसँग नजिक सम्पर्क नगर्ने
  • सफा खानेकुरा र पानी सेवन गर्ने

 

निष्कर्ष Conclusion:

टन्सिलाइटिस गम्भीर नभए पनि यो निकै पीडादायक हुन सक्छ। समयमा उपचार गर्ने र रोकथामका उपायहरू अपनाउने हो भने यसले दीर्घकालीन समस्या उत्पन्न गर्न सक्दैन। यदि लक्षणहरू गम्भीर छन् वा लामो समयसम्म रहिरहन्छन् भने र उपचार नगरेमा यसले विभिन्न जटिलताहरू निम्त्याउन सक्छ। बारम्बार हुने वा क्रोनिक टन्सिलाइटिसको अवस्थामा टन्सिल शल्यक्रिया आवश्यक हुन सक्छ। यदि तपाईँलाई टन्सिलाइटिसको लक्षणहरू बारम्बार देखिन्छ वा जटिलताहरूको अनुभव गर्दै हुनुहुन्छ भने, चिकित्सकसँग परामर्श गर्नु महत्त्वपूर्ण छ। समयमै उपचारले गम्भीर जटिलताहरूबाट जोगिन मद्दत गर्दछ।

थप जानकारीको लागि वा हाम्रो क्लिनिकमा विशेषज्ञहरूसँग परामर्श गर्न, अपोइन्टमेन्टको लागि कृपया बटनमा क्लिक गर्नुहोस्: